
काठमाडौं— कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयमा प्रतिनिधिसभामा सांसदहरूले प्रश्न उठाउँदै सरकारको जवाफ मागेका छन् ।
उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको सोमबार मृत्यु भएको थियो । बिरामी भएर छटपटाइरहेकी बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै मृत्यु भएको थियो ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले के कारणले बालिकाले उपचार नपाएर मृत्यु भएको हो भन्नेबारे सरकारको जवाफ मागेका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका उनले यस्तो अवस्था किन आयो र अस्पतालको व्यवस्थापनबारे पनि सोधपुछ गर्नुपर्ने बताए ।
त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले यस घटनाबारे स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।उनले यो घटनामा संलग्नमाथि कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग गरे ।
त्यस्तै रास्वपा सांसद चन्दा कार्कीले यो घटना लज्जास्पद रहेकोले यसमा दोषीहरूलाई कारबाहीको माग गरेका छन् । उनले अस्पतालमा पर्याप्त चिकित्सकहरू नहुँदा उपचार नपाउने अवस्था आएको बताइन् । उनले चिकित्सकहरूको पर्याप्त व्यवस्था गर्न माग गरिन् ।













