News Griha :: न्यूजगृह
महेन्द्र यादवमाथिको सांघातिक आक्रमणलाई लिएर कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

काठमाडौं—  नेपाली कांग्रेसले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय र शून्य समय लिएर कांग्रेसका सांसदहरुले पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका छन् । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको अर्को बैठकमा घटनाको सत्य तथ्यसहितको विवरण लिएर आउन आग्रह गरे ।

‘म गृहमन्त्रीज्यू लाई आग्रह गर्न चाहन्छु – यसपछि बस्ने प्रतिनिधि सभाको बैठकमा यो घटनाको बारेमा सम्पूर्ण विवरण सहितको जानकारी र यसमा भए गरेका सम्पूर्ण कामहरूको विवरण सदनमा प्रस्तुत गर्नुहुनेछ भन्ने नेपाली कांग्रेसको संसदीय दलको तर्फबाट माग गर्न चाहन्छु’ प्रमुख सचेतक लेखकले भनेका छन् ।

पक्राउ परेका दोषी लगायत अरु पनि मानिसहरूको संलग्नता छ भने सत्य तथ्य छानबिन गरी कडा भन्दा कडा कारबाहीका लागि समेत उनले सरकारलाई आग्रह गरे ।
त्यस्तै, कांग्रेस महामन्त्री गगन थापाले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:५४
Weather Update