News Griha :: न्यूजगृह
सदनमा राप्रपाले भन्यो— महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति पार्टी सदस्य होइनन्

काठमाडौं—  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति आफ्नो पार्टीको सदस्य नरहेको प्रष्टिकरण दिएको छ ।

बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै राप्रपाका महामन्त्री धवलशमशेर राणाले आफ्नो पार्टीले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए । ‘यो विषय प्रष्टै होस् त्यो व्यक्ति (आक्रमणकारी) हाम्रो पार्टीसित कुनै पनि प्रकारले संलग्न थिएन,’ महामन्त्री राणाले भने । आक्रमण गर्ने व्यक्तिलाई हुनपर्ने कारबाही होस् भनी उनले सरकारसँग माग गरे । 

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो ।
उक्त कार्यक्रममा आफू समेत सहभागी भएको उल्लेख गर्दै राप्रपाका महामन्त्री राणाले राजधानीमै नेताहरूमाथि आक्रमण हुनु दुखद भएको बताए । यस घटनामाथि छानबिन गर्न र दोषीलाई कारबाही गर्न उनले माग गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:२२
Weather Update