
काठमाडौं— प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग गरेका छन् । यादवमाथि बुधबार काठमाडौंमा आक्रमण भएको थियो ।
'मैले हिजो चिकित्सकलाई गएर भेटेँ, चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ, तर एउटा सन्काहाले सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण गर्न खोजिँदै छ, यसलाई थामथुम पार्ने कोशिश हुँदैछ,' उनले भने ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सांसद थापाले यस घटनाबारे सरकारलाई सचेत गराउँदै घटना कसरी र किन भयो ? घटनाको सबै पक्षका बारेमा गहिरो अनुसन्धान हुनुपर्ने माग गरे । घटनासँग जोडिएका सबैपक्षको उजागर हुनुपर्ने उनको माग छ । 'म गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामी काठमाडौंमा एक्लै हिँड्न नपाउने हो, कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, हामी एक्लै हिँड्न हुने हो कि नहुने हो, जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो, हामी सरकारको कामको परिणाम हेर्न चाहन्छौँ,' उनले भने ।
महामन्त्री थापाले सहमहामन्त्री यादवले जेसुकै बोलेको भए पनि बोलेकै आधारमा कसैलाई पनि साङ्घातिक आक्रमण गर्न नपाइने बताए । थापाले कान्ति बाल अस्पतालमा उपचार गराउन नपाउँदा बालिकाको मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । यस्तै राप्रपा सांसद धवल शमशेर जमराले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्तिमाथि कारबाहीका लागि सरकारसँग माग गरे ।