News Griha :: न्यूजगृह
कोशी सरकारविरुद्धको रिटमाथि जबाफी बहस सकियो, आजै फैसला आउने

काठमाडौं— सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटमाथि बहस सकिएको छ। कोशी सरकारविरुद्ध परेको रिटमाथि जबाफी बहस सकिएकाले आजै फैसला आउने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

उनले भने, 'कोशीका मुख्यमन्त्री थापाविरुद्ध परेको रिटमाथि जबाफी बहस सकिएको छ। आज फैसला आउने तयारी भइरहेको छ।'  सर्वोच्च अदालतको पूर्ण इजलासमा मुख्यमन्त्री थापाविरुद्ध परेको रिट निवेदनमा सोमबारबाट बहस सुरू भएको थियो। सोमबार रिटमाथि बहस नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैुमा राखिएको थियो। 

मंगलबार विपक्षीको बहस सकिएको थियो।  आज रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले जबाफी बहस गरेका थिए। सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा रिटमाथि सुनुवाइ भएको हो।

कोशीमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

यस अगाडि पनि सर्वोच्चले कोशी सरकारको मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर गरिदिएको थियो। 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १३:५०
Weather Update