News Griha :: न्यूजगृह
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

सङ्खुवासभा— अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सङ्खुवासभाको सभापोखरी गाउँपालिका– ५ की ३३ वर्षीया विमला राईको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिइन् । 

बुधबार बिहान १० बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा पठाइएको  स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताइन् । स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएको र बच्चा पनि उल्टो अवस्थामा भएपछि थापाथली प्रसूति गृह पठाइएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलको भनाइ छ । 

सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म १२ भन्दाबढी सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरिएको छ ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागेर बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा नै बच्चाको मृत्यु भएका र सुत्केरी पश्चात् अत्यधिक रक्तश्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दे आएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १३:११
Weather Update