News Griha :: न्यूजगृह
विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन— उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

माडी नगरपालिकाले बिहीबार आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिए ।

'एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुनसकेन । हाम्रो देश पछि पर्नुको मुख्य कारण पनि यही हो,' उनले भने । राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।  

उनले थपे, 'यसो गर्न सके मुलुक स्वाधीन, सुन्दर, लोकतन्त्र र समृद्ध बनाउन सकिन्छ ।' स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको उनको भनाइ छ । 

माडीवासीको समस्याप्रति आफू जानकार रहेको बताउँदै उनले निकुञ्जको बाटो कालोपत्र गर्ने विषयमा प्रधानमन्त्री र आफूले पटकपटक छलफल गरी पहिलो प्राथामिकतामा राखेको बताए । 

फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने गरी काम गर्न निर्देशन दिए  । उनले भने, 'भ्रष्टाचार र सुशासनलाई कायम गर्ने हकमा ध्यान केन्द्रित गरेर काम गर्नुस् ।' सुशासन, समृद्धि र सामाजिक न्याय अहिलेको सरकारको मुख्य कार्यभार रहेको बताउँदै उनले यसअनुसार अघि बढ्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १२:३०
Weather Update