News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रविले चुनाव जित्छन्

काठमाडौं— ‘यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि’, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पछिल्लो राहदानी प्रकरणबारे पत्रकारहरुसँग तितो पोख्दै भने । 

लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै युवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिट मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो । तर सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित गरेका छन् । १० वैशाखमा उपचुनावमा हुँदैछ । 

लामिछानेले सोमबार चितवन २ बाट पुनः प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । सर्वोच्चले पुनः नागरिकता प्राप्ति गर्न आदेश दिएसँगै उनको सांसद,उपप्रधान तथा गृहमन्त्रीको पद गुमेको थियो । नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै युवराज पौडेल (सफल) ले दायर गरेको रिटमा सर्वोच्चले लामिछानेलाई दोषी ठहर गरेको थियो । त्यसैले आगामी १० बैशाखमा चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । योसँगै तनहुँ १ र बारा २ मा पनि उपनिर्वाचन हुँदैछ । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएपछि तनहुँ १ मा उपनिर्वाचन हुन लागेको हो । यस्तै, बारा २ का सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ पनि उपनिर्वाचन हुन लागेको हो । सर्वोच्चको आदेशपछि लामिछानेले १५ माघमा पुनः नागरिकता प्राप्त गरे । अदालतको आदेशबाट पार्टी सभापतिको पदसमेत गुमाएका उनले नागरिकता पुनः प्राप्तिपछि भने रास्वपा सभापतिमा पुनर्बहाली भए।  

Prabhu Bank

‘मैले कानुनी उल्झन केही देखेको छैन । के छ र यसमा बाँकी ? तर, कसैले कसैलाई चाह्यो भने यो देशमा पाँच दिन स्टडी गरेर सय वटा मुद्दा ठोक्दिन सक्छ’,मनोनय दर्ता गर्न सोमबार चितवन पुगेका लामिछानेले पत्रकारहरुसँग आक्रोश पोखे । 

गत ४ मंसिरमा भएको निर्वाचनमा लामिछाने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई दोब्बर बढी (३४ हजार १६२) मतले पराजित गरेका थिए । उनले ४९ हजार २६१ मत ल्याएका थिए ।  

‘मलाई दुखै दिने, खत्तमै पार्ने भनेर भएभरका सारा शक्ति लागेर सक्नै पर्ने पात्र म हो कि होइन थाहा छैन, के त्यस्तो अपराध गरेको छु थाहा छैन’, उनले भने, ‘न मेरो कुनै पावर छ, न पहुँच छ, न म मुद्दा प्रभावित पार्न सक्छु । न्यायिक र अदालती प्रक्रियाबाट टुंगिसकेको कुराहरूलाई किन कोट्याइरहेका छन् ?’ 

तीन वटा क्षेत्रमा हुन लागेको उपचुनावले राजनीतिक माहोल तातिएको छ । माहोल तातिनुको पछाडीका कारण हुन् चितवनमा पुनः लामिछानेले उम्मेदवारी दिनु, नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका डा स्वर्णिय वाग्ले तनहुँ १ बाट लड्नु, यस्तै सुशासन पार्टीका अध्यक्ष रमेश खरेल बारा २ मा रास्वपा पार्टीबाट उम्मेदवारी दिनु ।  अहिले धेरैको नजर चितवन क्षेत्र नम्बर २ मा र तनहुँ १ मा छ । 

एकछिन चितवनको उपचुनावको कुरा गरौँ हिजो चितवनमा दोब्बर बढी मतले प्रतिस्पर्धीलाई पछारेका लामिछानेलाई यसपटकको चुनावमा टक्कर पर्न सक्ने केही विज्ञहरुको मत छ । कांग्रेसले त्यस क्षेत्रमा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठलाई सत्ता गठबन्धनको समर्थन छ । रास्वपालेसमेत पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ । चितवन २ कांग्रेसको गढ क्षेत्र पनि हो, युवा तथा स्थानीयलाई कांग्रेसले उम्मेदवार बनाएको छ । यसबीचमा लामिछाने सीमित समयको लागि भएपनि परीक्षण भएकाले उनलाई पुरानै परिणाम दोहोर्‍याउन कठिन हुन सक्ने बुझाइ केही विश्लेषकको छ । 

कांग्रेस उम्मेदवार श्रेष्ठ मंसिरमा लामिछानेले मिडियाबाजी र फण्डा गरेर चुनाव जितेपनि यसपालि परिणाम ठ्याक्कै उल्टो आउने दाबी गर्छन् । उनले चितवनमा पनि मंसिरमा अन्यत्र झैँ हावाहुरी आएको, तर हावाहुरी जसले ल्याएको हो, त्यो मान्छे आफैँ जनताको बीचमा कहाँ हो मेरो पहिचान भन्दै अहिले खोज्नु परेको टिप्पणी गरे। ‘कहिले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ । भोट हालेको र समर्थन गरेको कारण पनि खुलाउनु परेको छैन । किन गरेको भन्न नपर्ने ? के कारणले विश्वासको मत दिएको जनतालाई खुलाउन पनि नपर्ने ? पार्टीबाट निर्णय पनि गर्नु नपर्ने ?’, उनको प्रश्न छ ।  

प्रणालीभन्दा व्यक्ति हाबी

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा रेशम थापाकाअनुसार समग्रमा उपचुनावको प्रभाव सानो हुनुपर्ने तर ठूलो भएको छ । आम जनताले प्रणालीभन्दा पनि व्यक्तिले परिवर्तन ल्याउने कुरा हाबी भएपछि यस्तो भएको बताउँछन् । उनकाअनुसार जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र रास्वपा जस्ता पार्टीको स्पष्ट सिद्धान्त र अडान छैन । तर पनि यी पार्टीलाई जनताले पत्याए। भन्छन्, ‘हाम्रो अवस्थालाई सैद्धान्तिक रुपमा र समग्रमा नेपालको चरित्रमा राखेर हेर्नुपर्छ । धेरैलाई छिटो सफलता हात पार्नुपरेको छ । जसले गर्दा सत्ता परिवर्तनको संरचनामा प्रष्टता नभएको पार्टीले २० सिट ल्याएर राष्ट्रिय पार्टी बन्यो ।’ 

४ मंसिरको चुनावमा रास्वपाले प्रशासकीय गल्तीले प्रदेशमा उम्मेदवारी दिन सकेन । डा थापा भन्छन्, ‘यसपटक नयाँ घोषणापत्र जारी गरेर उठेका सवालहरुको प्रष्टसँग उत्तर दिएर पार्टी चुनावमा होमिनुपथ्र्यो । जुन अहिले पनि समय बाँकी छ, तर रास्वपाले गरेको छैन ।’ तर उनको विचारमा लामिछानेले चितवनमा फेरि पनि जित्नेछन् । भन्छन्, ‘मत घटेपनि केही घट्ला, तर उहाँले जित्नुहुनेछ ।’ 

राजनीतिक विश्लेषक मुमाराम खनाल पनि लामिछानेले उपचुनाव जित्नेमा विश्वस्त छन् । भन्छन्, ‘रवि लामिछानेको लोकप्रियतामा धेरै फरक आएको जस्तो लाग्दैन । मतदातालाई प्रभावित गर्न नागरिकता र राहदानी प्रकरण भएपनि त्यसले प्रभाव पार्न सकेन । त्यस हिसाबले त्यहाँको निर्वाचनमा फरक परिणाम आउन सक्छ भन्ने मलाई लाग्दैन ।’ 

विगतमा यो फलानो पार्टीको पकेट क्षेत्र, प्रभावित क्षेत्र भनेर निर्वाचनमा भनिएपनि हाल त्यो पकड फुस्किसकेको उनको भनाइ छ । भन्छन्, ‘यो एक प्रकारको राम्रो हो । मतदातालाई बधुँवा बनाएर राख्ने राजनीतिक दलको लामो इतिहास छ, तर त्यो विस्तारै हट्दैछ ।’ 

चितवन २ मा श्रेष्ठ र लामिछानेसँगै नेकपा एमालेबाट  रामप्रसाद न्यौपाने र राप्रपाबाट जीवलाल पुरी उम्मेदवार छन् । 


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १६:०२
sagarmatha cementsagarmatha cement
Weather Update