
काठमाडौं— कोशी प्रदेश सरकारविरुद्धकाे मुद्दामा बिहीबार पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । गत मंगलबारदेखि सुरु भएको सुनुवाइ बिहीबार पनि सर्वोच्चको पूर्ण इजलासमा हुँदैछ ।
आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमबारबाट पूर्ण इजलासमा सुनुवाइ हुने भने पनि सो दिन हेर्दाहेर्दैमा राखिएको थियो ।
जसअनुसार कम्तीमा ३ न्यायाधीश रहने पूर्ण इजलासमा उक्त मुद्दामाथि मंगलबारबाट सुनुवाइ सुरु भएको छ । मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैरसंवैधानिक भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामाथि गत शुक्रबार नै पूर्ण सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर सो मुद्दामा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै सुनुवाइ रोकिदै आएको थियो ।













