News Griha :: न्यूजगृह
बैतडीमा मेडिकल सञ्चालक पक्राउ

बैतडी— बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित ३ वटा मेडिकल सिल गरिएका छन् ।प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । उनले भने,‘स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले नियन्त्रणमा लिएका छौं । यो विषयमा थप अनुसन्धान भइरहेको छ ।’

मेडिकलले चिकित्सकको प्रेसक्रिप्सन बिनाऔषधी बिक्री गर्ने गरेको,आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

मेडिकलले अवैध रुपमा सञ्चालन गरिएका भन्ने जनगुनासो आउन थालेपछि पछिल्लो समय अनुगमन कार्यलाई तीव्रता दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०८:०९
Weather Update