काठमाडौं— नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको बहुदलीय जनवादले कम्युनिस्ट पार्टीको नेतृत्वका साथै मार्क्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने भएकाले आफूहरू समाजवादको बाटोमा रहेको बताएका छन् ।
पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलामा उनले समाजवादको आवश्यकताबारे राष्ट्रव्यापीरुपमा जनतालाई जानकारी गराउन आफ्नो पार्टीले मेची महाकाली अभियान सञ्चालन गर्न लागेको बताए ।
आगामी असोज १४ देखि २९ गतेसम्ममा सो राष्ट्रिय अभियान सम्पन्न गर्ने कार्यतालिका रहेको बताउँदै उनले आफूहरू सही बाटोमा अघि बढ्नसके पार्टी पङ्क्तिभित्र विद्यमान भ्रमका बादल फाटेर जाने प्रष्ट पारे ।
नेता खनालले राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय जनतालाई बुझाइने बताए ।
उनले भने,‘हामी सँगसँगै विद्रोह गरेर आएका कतिपय साथीहरू पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने छ । विभिन्न जिल्लामा त्यस्ता घटना घटिरहेका छन् । तर हामीले एमालेका नेताकार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गराएका छौँ । अब एमालेभित्र पहिरो जाँदैछ ।’