महेन्द्र यादवमाथि आक्रमण घटना : नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं— नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।
पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएपछि नेविसंघले विज्ञप्ति निकालेर गृहमन्त्रीको राजीनामा मागेको हो ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘देशमा आमनागरिकको जीउज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रूपले असफल भएको यस घटनाले पुष्टि गरेको छ । राजधानीको सार्वजनिक स्थलमा पूर्वमन्त्रीजस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृहमन्त्रीको राजीनामा समेत माग गर्दछौं ।’
सहमहामन्त्री यादवमाथिको घटनाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० १८:२९













