
पर्वत— पर्वतको महाशिला गाउँपालिकाले शैक्षिक सुधारका लागि गाउँपालिकाभित्रका विद्यालयमा आवासीय कक्षा सञ्चालन गरेको छ । सो कक्षा सञ्चालन गरेपछि विद्यालयका शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन भत्ता पनि दिने गरेको छ ।
गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालले तीन जना कर्मचारी र शिक्षकलाई ३५ प्रतिशत थप प्रोत्साहन भत्ता दिने गरेको जानकारी दिए । गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका विद्यालयमा शैक्षिक सुधारका लागि आवासीय कक्षा सञ्चालन गर्दै आएको हो ।
कक्षा १० मा पढ्ने विद्यार्थीलाई आवासीय कक्षा सञ्चालन गर्दा एसईईमा राम्रो नतिजा आउने भएकाले यस्तो सुरुआत गरिएको गाउँपालिका अध्यक्ष भुसालले बताए ।
उनका अनुसार होस्राङ्दीको गोर्लाङधाम आधारभूत विद्यालयमा पूर्ण रूपमा आवासीय कक्षा सञ्चालन हुने गरेको छ भने गत वर्षदेखि दुई माध्यमिक विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको हो ।
यस वर्षदेखि अन्य विद्यालयमा समेत आवासीय कक्षा सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको उनको भनाइ छ ।













