
चितवन— नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा शेरबहादुर देउवाले आफूलाई सभापतिको उम्मेदवार बन्न सक्ने संकेत गरेका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कोइरालाले यस विषयमा टुङ्गो भने लागिनसके बताए । पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशाङ्क कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले भने, 'सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?'
पार्टीका साथीहरूसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो । तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको कोइरालाको भनाइ थियो । उनले भने, 'सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौँ, उहाँहरूको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु ।'