
काठमाडौं— उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन् ।
चितवनको माडीमा बुधबार उनले ललिता निवास जग्गा सरकारको स्वामित्वमा ल्याउन ठोस पहल थालिएको दाबी गर्दै छिटै सरकारकै नाममा दर्ता हुने जिकिर गरे ।
श्रेष्ठले भने, ‘बालुवाटारमा ललिता निवास सरकारी जग्गा, दलाल कर्मचारी र प्रभावशाली राजनीतिक व्यक्तिहरू मिलेर व्यक्तिको नाममा लैजाने काम भएको छ । त्यसलाई अनुसन्धान गरेर ती व्यक्तिलाई कानूनको दायरामा ल्याउने प्रकृया अगाडि बढाइएको छ । छिट्टै त्यो जग्गा सरकार मातहतमा ल्याउने ठोस पहल कदमी चालिने छ र विश्वास छ । त्यो सरकारी जग्गा छिटै सरकारकै नाममा दर्ता हुने छ।’
उनले ६० किलो सुन तस्करीको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचानगरी कानुनको दायरामा ल्याई कारबाही गरिने प्रतिवद्धता जनाए । सुन तस्करी प्रकरण अनुसन्धानरत रहेको र केही दिन भित्रमा नै निष्कर्षमा पुग्ने उनको जिकिर छ ।
श्रेष्ठले भने, ‘देशभित्र अवैध रुपमा जुन सुनको तस्करी भइरहेको छ । अहिले पछिको ६० किलो सुनको तस्करीलाई आधारित बनाएर त्यसका अपराधीहरूको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचान गर्ने गरी कानूनको दायरामा ल्याएर कारबाही गर्ने प्रकृया अनुसन्धानरत छ । केही दिन भित्रै निष्कर्षमा पुग्ने छ ।’













