काठमाडौंमा ‘सिंहदरबार’ जस्तै अब जनकपुरमा ‘जनक दरबार’

जनकपुरधाम— मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरू एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक दरबार निर्माण गर्ने बताएका छन् ।
बुधबार जनकपुरधामको बेंङ्गाशिवपुरमा श्रीकृष्ण जन्माष्टमी मेला तथा कलश यात्राको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधामको बाउन्न बिघा जमिनमा प्रदेशको हरेक मन्त्रालय र मुख्य प्रशासनिक इकाई बनाएर जनक दरबारको रुपमा स्थापित गर्ने बताए ।
काठमाडौंको सिंहदरवार जस्तै प्रदेशको मुख्य केन्द्रको रुपमा अब जनक दरबार स्थापित हुने उनको दाबी छ । उनले जनक दरबार बनाउने निर्णय चार महिना पहिले नै गरेर प्रधानमन्त्री कार्यालयलाई बुझाइसकेको र स्वीकृति पाउने बित्तिकै निर्माण कार्य अगाडि बढाउने जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० १३:०७













