News Griha :: न्यूजगृह
ट्रमा सेन्टरमा कार्यरत डाक्टर मृत भेटिए

काठमाडौं— सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टर प्रज्ज्वल कोइरालाको शव फेला परेको छ । झापा, दमक नगरपालिका–१ का उनी मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए। ३२ वर्षीय कोइरालाको शव मंगलबार अपराह्न फेला परेको प्रहरीले जनाएको छ ।  

उनको शव बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भङ्गालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए ।

‘शव सडेगलेको अवस्थामा फेला परेको छ, आफन्तले शव पहिचान गर्नुभएको छ,’ फुँयालले भने । कोशीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी भदौ १० गते राति सप्तकोशी नदीको छेउमा कार छोडेर डाक्टर बेपत्ता भएका थिए । उदयपुर बेलका नगरपालिका–८ मा कार पार्किङ गरेर कोइराला बेपत्ता भएका थिए ।

सप्तकोशी नदीको पुलको बीच भागमा जुत्ता, मोजा र मोबाइल भेटिएको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १०:२२
Weather Update