
चितवन— नेपाली कांग्रेस चितवनले जिल्ला फर्क अभियान गर्ने भएको छ । चितवन जिल्लामा घर भई स्थायी तथा अस्थायी बसोबास गरेकालाई जिल्लामा फर्काउने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।
नेपाली कांग्रेस चितवनको यही भदौ २३ गते हुने जिल्ला सम्मेलनमा सभापति राजेश्वर खनाल सो विषयलाई नीति तथा कार्यक्रममा समावेश गर्ने तयारीमा छन् ।
उनका अनुसार सम्मेलनले अनुमोदन गरेसँगै अभियानका रूपमा बाहिरी जिल्लामा रहेका कांग्रेसका नेता कार्यकर्तालाई जिल्ला फर्काउने गरी काम गरिने छ ।
उनले भने,‘नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीलाई पार्टी र जनसम्पर्क समिति समन्वय गरी जिल्लामा फर्क अभियान कार्यक्रम सञ्चालन गर्छौं ।’
आन्तरिक पार्टी सुदृढीकरणसँगै आमनागरिकको जनजीविकासँग जोडिएका विषयमा कांग्रेसलाई जोडेर संगठन सुदृढीकरण अभियानमा लाग्ने उनको भनाइ छ ।
पार्टीले नेपाली कांग्रेस वैदेशिक जनसम्पर्क समिति गठन गरी चितवन जिल्लामा स्थायी बसोवास भई अध्ययन तथा रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेकालाई जोड्ने योजना बनाएको छ ।
खनालका अनुसार पार्टी सदस्य तथा शुभेच्छुकलाई पार्टी र संगठनमा जोड्ने उद्देश्यले वैदेशिक जनसम्पर्क समिति चितवन स्थापना गरी काम गर्ने योजनाअघि सारिएको छ ।