News Griha :: न्यूजगृह
भ्रष्टाचार र बेथिति अन्त्यका लागि सरकारले चालेको कदम रोकिन्न : वर्षमान पुन

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भ्रष्टाचार र बेथिति अन्त्यका लागि सरकारले चालेको कदम नरोकिने बताएका छन् ।

उनले सरकारले बेथिति अन्त्य र सुशासन कायम गर्ने एजेन्डालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरे ।

सुशासनका लागि कदम चाल्दा दोषी कोही नउम्किउन् र निर्दोष कोही नपरुन् भन्नेमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।

उनले अनुसन्धानका सिलसिलामा माओवादीसहित सरकारका संलग्न दलका नेताकार्यकर्ता वा उनीहरूका निकट व्यक्ति संलग्न भए पनि उन्मुक्ति पाउन नहुने स्पष्ट पारे ।

‘बेथितिविरुद्ध प्रहार गर्ने क्रममा सत्तामा भएका वा नभएका दलका नेता, मन्त्री, प्रधानमन्त्री, उनका परिवारका सदस्य वा निकट व्यक्ति अपराधमा संलग्न रहेछन भने नछुटुन्’,पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार यहाँ गरेको कार्यक्रममा उपमहासचिव पुनले भने,‘सत्तापक्ष वा आफ्नै पार्टीभित्र, आफूसँग असहमत प्रमुख प्रतिपक्षसहित प्रतिपक्षतर्फ लक्षित गरी राज्यशक्तिको दुरूपयोग गर्ने काम भयो भने भ्रष्टाचारविरोधी अभियान सफल हुन सक्दैन । त्यसैले म भन्छु गल्ती गर्ने एक जना पनि नउम्कियोस्, निर्दोेष कोही नफसोस् ।’

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २०:००
Weather Update