मकवानपुर— बाग्मती प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । दुई महिनापछि सोमबार दिउँसो १:३० बजेका लागि तय गरिएको बैठक सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै विपक्षी दलले बैठक चल्न नदिने चेतावनी दिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
प्रदेश सभा बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका सांसदले सरकारले विगतमा गरको सहमति कार्यान्वयनन गरेको भन्दै सदन चल्न नदिने चेतावनी दिए ।
बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमै विवाद भएपछि सोमबार दिउँसो १:३० बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरेर ४ बजेका लागि तय गरिएको थियो तर त्यसबीचमा पनि दलबीच सदन सञ्चालनका विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी एमालेले सदन सञ्चालनका लागि सरकारले विगतमा गरेका सहमति पालना गर्नुपर्ने बताएको छ । एमालले यसअघि सरकारले बजेटमा विपक्षी दलको माग सम्बोधन गर्ने सहमति गरे पनि पालना नगरेका कारण समस्या भएको बताएको छ ।