काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार उनले काठमाडौंको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गरेका हुन् ।
बैठकमा फोहोरको दीर्घकालीन समाधानका बारेमा सहभागीले धारणा राखेका थिए । बैठकमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो । यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानूनी प्रबन्ध आवश्यक रहेकामा जोड दिइएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले आउँदो मन्त्रिपरिषद्को बैठकबाट देशभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरि ठोस् निर्णय गरिने जानकारी गराए । उनले भने, ‘सङ्घीय सरकार काठमाडौँ उपत्यकालगायत देशभरिको फोहोर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ । त्यसका लागि मन्त्रिपरिषद्को बैठकबाट ठोस् निर्णय गर्नुपर्दछ । आउँदो मन्त्रिपरिषद् बैठकमा देशभरिको फोहोर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिनेगरी निर्णय लिन्छौँ ।’
प्रधानमन्त्री प्रचण्डले फोहोर व्यवस्थापन सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने उल्लेख गर्दै त्यसका लागि ठोस् गृहकार्य गर्नसमेत निर्देशन दिए ।
प्रधानमन्त्री दाहालले आमन्त्रण गर्नुभएको छलफलमा सहरी विकासमन्त्री सीता गुरुङ, नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवद्वय एकनारायण अर्याल र मणिराम गेलाल, सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायत उपस्थित थिए ।













