हुम्ला— हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ ।
विद्युत जडान भएपनि बिहानको समयमा लोडसेडिङ हुँदा पढाई सञ्चालन गर्न मोबाइलको टर्च बाल्नु पर्ने अवस्था आइपरेको प्राध्यापक शिवराज शर्माले बताए । हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङ गर्दा बिहानी कक्षामा पढाउन समस्या भएको उनको भनाइ छ । बिहान ६ बजेदेखि पठनपाठन गर्नुपर्ने र त्यसबेला अँध्यारै हुने भएकाले मोबाइलको टर्च बालेर पढाउनु परेको छ ।
प्राध्यापक शर्माले भने, ‘यो समस्या विशेष गरी अभ्यास गर्दा हुने गरेको छ । आफूले कालोपाटीमा लेख्दा मोबाइलको टर्च बाल्नुपर्ने र विद्यार्थीले पनि कापीमा टिप्दा टर्च बाल्नुपर्छ । क्याम्पसमा चार वटा कक्षा यसरी नै चल्दै आएका छन् ।’ सामुदायिक क्याम्पस भएकाले स्रोत नहुँदा विद्युतको विकल्प खोज्न गर्न नसकिएको क्याम्पस प्रमुख प्रमुख दीपक भण्डारीको भनाइ छ । क्याम्पसमा हालै स्नातक तह पहिलो वर्षको पढाइ सुरु भएको छ ।
नियमित पठनपाठन भइरहे पनि अँध्याराका कारण निकै समस्या भएको विद्यार्थी अमर बोहराले गुनासो गरे । ‘शिक्षकलाई पनि पढाउन समस्या छ, हामीलाई पनि समस्या बनाएको छ,’ उनले भने ।













