
काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रङ्गशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको बताएका छन् ।
नेपाल र भारतबीच श्रीलङ्कामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रङ्गशाला निर्माणमा महानगरले पहल गर्ने पनि बताएका छन् । नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलंका पुगेको उल्लेख गर्दै उनले अनुमानित हिसाबका आधारमा त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड हुन सक्ने जनाएका छन् ।
उनले श्रीलङ्कामा नेपाल र भारतबीच खेल भइरहेको रङ्गशाला हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै रहेको पनि उल्लेख गरेका छन् । ‘केही प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यही स्तरको रङ्गशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद,’ उनले लेखेका छन्, ‘यसैले नेपाल सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रङ्गशाला बनाउन हामी पहल गर्नेछौँ ।’
यस्तोमात्रै रङ्गशाला र केही ठूलाखेलहरू हुने हो भने खेलको विकास हुन सक्ने बालेनले प्रस्ट पारेका छन् । ‘एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौँ,’ उनले लेखेका छन् ।













