
झापा— झापाको अर्जुनधारा नगरपालिकाका ३ वटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखा परेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् ।
रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिइन् ।
‘गबारो, ढुसी र फौजी कीराको समस्या देखापरेको छ’,उनले समस्याबारे जानकारी दिँदै भनिन्,‘केही किसानका खेतमा धानबाली सखाप भएको अनुगमनबाट देखिएको छ भने तत्काल नियन्त्रण गरिएन भने अन्यतिर फैलिने सम्भावना छ ।’
रोग नियन्त्रण गर्न किसानलाई कीटनाशक विषादी दिएर पठाउने र रोग नियन्त्रण गर्ने उपाय सिकाउने गरिएको उनले बताइन् ।
हुर्किन लागेको धानबालीमा रोग फैलिएपछि चिन्तित बनेका किसान मर्न थालेको धानको बोटै बोकेर नगरपालिकाको कृषि शाखामा जाने गरेका छन् । रोगको समस्या सबैभन्दा बढी वडा नं ७ मा रहेको शाखा प्रमुख बिडारीले बताइन् ।
‘परम्परागत तरिकाले खेती गर्दा यस्तो समस्या देखापर्ने धेरै सम्भावना हुन्छ’,उनले भनिन्,‘धान रोपेपछि गोडमेल गर्ने र पानी पटाइरहने बानी हाम्रा किसानको छैन । खेतीमा रोगले आक्रमण गरिरहेको छ भने बेलैमा त्यसको नियन्त्रणको उपाय गर्नुपर्छ ।’
किसान समस्या भएपछि ढिलो सम्पर्कमा आउने गरेको कृषि शाखाको गुनासो छ । अर्जुनधारा–३ का युवराज इङ्नामले किसानले ५ कठ्ठादेखि एक बिघासम्मको जमिनमा लगाएको धानबालीमा रोग देखापरेको बताए ।













