News Griha :: न्यूजगृह
पुल्चोक–गोन्द्राङ ६ लेन सडकको काम वर्षाले प्रभावित
प्रतिनिधिमूलक तस्बिर

चितवन— वर्षाका कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत ६ लेन सडक निर्माणको काम प्रभावित बनेको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित बनेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार बजार क्षेत्रमा पानीका कारण काम प्रभावित भएको छ । उनले भने,‘चार–पाँच दिन पानी रोकियो भने काम गर्न सकिन्छ ।’ अहिले पानी जमेपछि ग्राभेल बिच्छ्याएर रोलिङ गर्न नमिलेको उनले जानकारी दिए ।

यससँगै भरतपुर ओरालोमा खानेपानीको पाइप सार्ने काम भइरहेकाले सडकको काम प्रभावित बनेको छ । तत्कालका लागि काम गर्न बजेट रहेकाले आर्थिक कारण काम नरोकिएको उनले बताए ।

यस आर्थिक वर्षका लागि पाँच करोडमात्रै बजेट विनियोजन भएको छ । थप बजेटका लागि सडक विभागमा मौखिक कुरा भइरहेको जनाउँदै उनले कात्तिक महिनामा बजेट माग गरिने बताए । 

हालसम्म सो सडकखण्डको ७० प्रतिशत काम सम्पन्न भएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०७:२८
Weather Update