News Griha :: न्यूजगृह
सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु, आफन्त आक्रोशित

काठमाडौं— सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ ।

अवधि नपुग्दै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी कैलालीको जोशीपुर गाउँपालिका–४ लालपुर वाणीकी २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए ।

उनका अनुसार शल्यक्रिया गरेर मृत नवजात शिशुलाई जन्म दिएकी परियारको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो । उपाध्यायका अनुसार शल्यक्रिया गरेर परियारको गर्भमा रहेको शिशु निकालिएको थियो ।

सो क्रममा शरीरमा अक्सिजनको मात्रा कम भएपछि शुक्रबार सेती अस्पतालमा आएकी परियारको सोमबार शल्यक्रिया पश्चात् मृत्यु भएको हो। तर, मृतका आफन्तले भने ड्युटीमा रहेका नर्सिङ स्टाफका कारण राधाको मृत्यु भएको आरोप लगाएका छन्। मृतक राधाकी जेठानी कल्पना परियारले अस्पतालको लापरबाहीले राधाको मृत्यु हुन पुगेको बताइन् ।

शुक्रबार अस्पताल ल्याएर भर्ना गर्दा पनि ठिक समयमा शल्यक्रिया नगरेको कल्पनाले बताइन्। 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १६:२०
Weather Update