News Griha :: न्यूजगृह
भदौ २४ गते बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं— एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ प्रस्तुत भयो । प्रस्तुत प्रतिवेदनलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत गर्‍यो ।

साथै उक्त प्रतिवेदनमाथि राष्ट्रिय सभामा सोमबार नै छलफल भयो । छलफलमा १० जना सांसदले भाग लिए । सांसदहरुले संविधान अनुसार कानुन नबन्दा प्रदेश र स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरे ।

कानुन अभावमा संविधानः प्राप्त अधिकारको सदुपयोग हुन नसकेको बताए । कानुन अभावमा अराजकता समेत बढ्दै गएको भन्दै सांसदहरुले सरकार जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान अनुकुल बनाउनुपर्ने कानुन बनाउने कार्यमा अग्रसर रहेको बताए । विगतमा विविध कारणले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरू बन्नमा ढिलाइ भएको स्वीकार गर्दै उनले एक एक गरी विधेयकहरू संसद्मा ल्याउने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्रीको जवाफ पछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक साता बस्ने गरी बैठक स्थगित गरेका हुन्  । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:२६
Weather Update