News Griha :: न्यूजगृह
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न— क्रिकेट खेलाडीलाई दिने भनिएको १७ लाख खोई ?

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले क्रिकेट खेलाडीहरूलाई १७ लाख दिने भनेर गरेको वाचा किन पूरा नगरेको भन्दै प्रश्न गरेका छन् । 

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढि नपाएको भन्दै खेलाडीहरूलाई दिन भनेको पैसा छिटोभन्दा छिटो वितरण गर्न ध्यानाकर्षण गराएका छन् । 

उनले भने, ‘प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि भनेर नेपाल नामिबिया स्कटल्यान्ड काठमाडौंमा ३ लाख, नेपालले यूएईमा खेल्दा ३ लाख , नेपालले यूएई पिएनजी काठमाडौंसँग खेल्दा ३ लाख, प्रधानमन्त्रीले घोषणा गरेको २ लाख र एसीसी कप जित्दा ६ लाख गरेर नेपालका खेलाडीहरूलाई १७ लाख दिने भनेर बाचा गर्नुभयो तर अहिलेसम्म त्यो पैसा पुगेको छैन् । आज हामी खेलाडीहरूलाई बधाई दिदैँ गर्दा डर लाग्छ कि लाग्दैन । भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी छैन् । खेलाडीहरूलाई दिन भनेको पैसा किन दिएको छैन् त्यो दिनु पर्छ ।’ 

यस्तै सांसद शाहीले कर्णाली राजमार्गको जुम्लाको सडक खण्डमा हुने गरेको दुर्घटनाको विषय उठाउँदै कर्णाली राजमार्ग बनाउँन लागेको हो की मृत्यु मार्ग बनाएको भन्दै प्रश्न गरेका छन् । उनले उक्त राजमार्ग छिटो व्यवस्थित गर्न पनि माग गरेका छन् । 

शाहीले भने, ‘भदौ १७ गते बिहान ६ : ३० बजे जुम्लाको कनका सुन्दरी गाउँपालिका वडा नं. ४ मा गाडी दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । २०६६/०६७ देखि अहिलेसम्म कर्णाली राजमार्गको जुम्लाको सडक खण्ड लगायतमा ४३३ वटा सवारी दुर्घटना भए १९९ जनाले ज्यान गुमाए र कम्तीमा ८ सयभन्दा बढी अझै घाईते छन् । यो कर्णाली राजमार्ग बनाउँन लागेको हो की मृत्यु मार्ग बनाएको हो । यो राजमार्गको छिटोभन्दा छिटो पिच गरियोस ।’    

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:४८
Weather Update