News Griha :: न्यूजगृह
एसिया कपमा नेपालले भारतसँग खेल्दा बत्ती नजाने, थिमि र जोरपाटी क्षेत्रमा भने साँझसम्म नआउने

काठमाडौं— बेला बेला झ्याप्पझ्याप्प हुने ‘अघोषित लोडसेडिङ’ ले काठमाडौं उपत्यकावासी हैरान छन् ।

यही बेला नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार एसिया कपको आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलङ्कामा हुने यो खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । अधिकांश नेपाली यो खेलको प्रतीक्षामा छन् । तर, झ्याप्पझ्याप्प बत्ती जाने हो कि भन्ने चिन्ता खेलप्रेमीलाई छ । 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई खेल भइरहदा कही कतै पनि बत्ती नजाने बताउँछन् । तर, अपरझट रूपमा रुखले तार छोयो वा ट्रान्समिटर पड्किएमा केही भन्न नसकिने उनी बताउँछन् । 

‘लोडसेडिङ काहीँ पनि छैन । कहिले काहीँ इमर्जेन्सी आगो लाग्यो भने अथवा रुखले तार छोयो भने लाइन अवरूद्ध हुने हो,’ उनले भने, ‘हावा, हुरीबतास कतै चल्यो भने केही भन्न सकिँदैन । आज काहीँ अवरूद्ध हुँदैन ।’ 

तर, प्राधिकरणले भने सोमबार ११ बजेदेखि बेलुका ६ बजेसम्म थिमि प्रसारण केन्द्रको बालकुमारी फिडरअन्तर्गत पर्ने सिरुटार डोलबाट सेक्सन लाइजरब्लेट स्विच काटिने बताइएको छ । ११ किलोभोल्ट लाइनमा परेको रूखका हाँगाहरू, बाँस कटान कार्यको लागि आज उक्त लाइन सटडाउनमा राखी कार्य गर्नुपर्ने बताएको छ ।

यो लाइनअन्तर्गत पर्ने सिरुटार, बिरुवा, तर्खाल,सिकारिटार, कालिटार, दधिकोट क्षेत्रमा लाइन अवरूद्ध हुने जानकारी दिइएको छ ।

त्यस्तै, जोरपाटी प्रसारण केन्द्रको गोठाटार फिडरअन्तर्गत पर्ने मान्टार, डोटेल डेरी वडा नं ९ कार्यालय, हात्तीडाँडा,ओपिटार, गोठाटार हेल्थपोस्ट,पहेँलोपुल क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । ११ केलोभोल्ट ‘कन्डक्टर अपग्रेटिङ’ कार्यका लागि  १० बजेदेखि बेलुका ५ बजेसम्म उक्त फिडर सटडाउनमा राखी कार्य गरिने छ ।

तर, यो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा लाइन सुचारू हुन सक्ने छ । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:५०
Weather Update