
काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा सुरु भएको छ ।
न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो । उक्त रिट नेकपा एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेका हुन् । आइतबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुष्मालता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश गरेको थियो ।
मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
भदौ ७ को प्रारम्भिक सुनुवाइमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्न नगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।