
काठमाडौं— पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत हुनुपरेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन अब कुनैपनि बहानामा ढिलाइ गर्न नहुने बताए । उनले विश्वमान चित्रमा नेपाललाई द्वन्द्वपीडित देशबाट शान्तिमय देशमा बदल्नुपर्ने बताए । श्रेष्ठले पीडितलाई न्यायको प्रतीक्षा गराउनु नहुने उल्लेख गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन राष्ट्रिय प्रयास आवश्यक रहेकोसमेत बताए । जतिसुकै जनआन्दोलन भएपनि अन्याय दबाएर दिगो विकास र शान्ति स्थापना हुन नसक्ने श्रेष्ठको भनाई छ ।
‘यो देश हाम्रो शान्तिमय देशको रुपमा संसारको मानचित्रमा बसेको देश हो । केही समय हामी द्वन्द्व पीडित देशमा वर्गीकृत छौँ । विश्वमानचित्रमा द्वन्द्वपीडित राष्ट्रमा हामी चित्रित छौँ । यो शान्ति प्रक्रिया टुङ्गोमा नपुगेका कारणले यो चित्र हाम्रो निरन्तर छ । यो निरन्तर भएको चित्रलाई बदल्नुपर्छ । ग्लोबल म्यापबाट हामीले द्वन्द्वपीडित राष्ट्र होइन, शान्तिमय देशको रुपमा बदल्नुपर्छ,’ उनले भने, ‘यो जस सम्माननीय प्रधानमन्त्रीको कार्यकालमा होस् । पीडितलाई न्यायको प्रतीक्षा अब ढिलाइ हुन दिनु हुँदैन । यो समाधान गर्न सकिने विषय हो । राष्ट्रिय प्रयासबाट हुनसक्छ । हामीमा उर्जा, सहस, लगन र उदारता जरुरी छ ।’