
ताप्लेजुङ— नेपाल एअरलाइन्सले करिब तीन महिनापछि काठमाडौं–सुकेटार उडान सुरु गरेको छ ।
खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौं–सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एअरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।
लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट छ यात्रु ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताए । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।
यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौं ताप्लेजुङको भाडा यसअघि नौ हजार ६५३ थियो भने हाल घटाएर आठ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौँको भाडा यसअघि नौ हजार ४५३ भएकोमा यसलाई घटाएर आठ हजार ४०० रुपैयाँमा झारिएको छ ।
मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।













