News Griha :: न्यूजगृह
बाग्लुङमा हावाहुरीले मकै बालीमा क्षति पुर्‍यायो

बाग्लुङ— हावाहुरी र वर्षाले बाग्लुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्‍याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बालीमा क्षति पुर्‍याएको हो ।

वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब ७ सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले जानकारी दिए ।

शनिबार राति र आइतबार बिहान आएको हुरीले मकै बालीमा क्षति गरेको उनको भनाइ छ ।

७ सय रोपनीमा लगाएको मकै कामै नलाग्ने गरी ढलेपछि किसानले ५० लाखभन्दा बढीको क्षति बेहोर्नुपरेको उनले बताए ।

किसानले हावाहुरीले मकै नष्ट गरेको जानकारी गाउँपालिकालाई गराइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:१२
Weather Update