News Griha :: न्यूजगृह
लुम्बिनी प्रदेश अध्यक्ष छान्दै एमाले

काठमाडौं— नेकपा एमालेले लुम्बिनी प्रदेश अध्यक्ष छान्न सोमबार चुनाव गर्दैछ ।

प्रदेशको नेतृत्व सहमतिमै टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि अध्यक्षका दुई दाबेदार राधाकृष्ण कँडेल र हरि रिजाल दुबैबीच सहमति नभएपछि चुनाव हुन लागेको हो ।

प्रदेशको नेतृत्व छान्नका लागि आइतबार रातिदेखि नै निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । सोमबार बिहान १० बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ ।

अध्यक्षका २ उम्मेदवार कँडेल र रिजालले आइतबार नै मनोनयन दर्ता गराइसकेका छन् । अध्यक्षका उम्मेदवार कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाललाई महासचिव पोखरेलको साथ छ । 

सोमबार मनोनयनको काम सकिएपछि मतदान सुरु गरिने प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले बताए । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०७:५०
Weather Update