
लहान— मधेस प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले संघीय शिक्षा ऐन नहुँदा काम गर्न समस्या भएको बताएका छन् ।
१६औं पुस्तकालय दिवसका अवसरमा सिर्जना सामुदायिक पुस्तकालय, लहान–११, पडरियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अहिलेसम्म संघीय शिक्षा ऐन नआउँदा प्रदेशको शिक्षा ऐन बनाउन समस्या भइरहेको भन्दै मन्त्री यादवले मधेसको शिक्षामा देखिएको विकृति हटाउन सरकार नयाँ सोचको साथ अगाडि बढ्ने बताए ।
कार्यक्रममा बोल्दै उनले सुगम रहेको मधेस प्रदेशमा अहिले पनि निरक्षर रहेकाले सबैलाई साक्षर बनाउन मधेस सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरेको बताए ।
मन्त्री यादवले भने,‘दलित, डुम, मेस्तर र मुसहर समुदायका बालबालिका अहिले पनि विद्यालयबाहिर रहेकाले यस कार्यमा सामुदायिक पुस्तकालयहरूको पनि भूमिका देखिनु आवश्यक छ ।’













