
काठमाडौं— प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले कृषि क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताएकी छन् ।
समिति बैठकमा उनले बाँझो रहेको लाखौं हेक्टर जमिन सदुपयोगका लागि आवश्यक पहल थाल्ने बताइन् । राणाले गाँजा खेती सम्बन्धी नीतिसमेत अर्थ मन्त्रालयको नीतिमा परेको भन्दै उनले त्यसमा पनि गम्भीर भएर लाग्नु पर्ने बताइन् ।
उनले भनिन्, ‘गाँजा खेती सम्बन्धी अर्थ मन्त्रालयको नीतिमा परेको छ । त्यसपछि के भइरहेको छ त यस सम्बन्धी कुरा राख्नु पर्छ किन भने यसमा वैज्ञानिक र शैक्षिक अनुसन्धान पनि भइरहेको छ । यसमा नेपालको अहिले १० लाख हेक्टर हाम्रो खाली छ, केही पनि रोपिएको छैन् । यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ त्यसलाई योसँग जोडेर गृह मन्त्रालयको मानिससँग पनि कुरा गर्नु पर्छ । हामी कृषि क्षेत्रमा सुधार गर्नको लागि एकदमै गम्भीर भएर लाग्ने छौ ।’
यस्तै, राणाले योभन्दा अगाडि गएका प्रस्तावहरूले के सुधारहरू गरे के भइरहेको छ भन्ने विषयमा सबै मन्त्रालयहरूलाई पत्राचार गरेर छलफल गर्नु आवश्यक भएको पनि बताइन् ।
उनले भनिन्, ‘यो भन्दा अगाडि गएका प्रस्तावमा के सुधारहरू गरे के भइरहेको छ भनेर केही मन्त्रालयहरूलाई सोध्नै पर्छ । यो भूमि आयोगको समस्याहरू कसरी समाधान गर्न सकिन्छ । पत्राचार नै गरेर उहाँहरूसँग छलफल गर्न आवश्यक छ ।’
कार्बन ट्रेडका सम्बन्धमा नेपालले कस्तो प्रकारको नीति निर्माण गरेको छ त्यसको बारेमा पनि अध्ययन गर्नु आवश्यक भएको राणाको भनाई छ ।













