News Griha :: न्यूजगृह
एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर होलेनबीच भेट, एमसीसी र शान्ति प्रक्रियाबारे चासो

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेट भएको छ ।

सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच आइतबार शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहेका होलेनले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राखेका र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरि टुङ्गोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएका थिए ।  भेटपछि सञ्चारकर्मीसँग उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताए । 

नेम्वाङले भने, ‘दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भयो । सिनेटरजीको नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा थियो, यो अब  कसरी, के हुन्छ भन्ने जिज्ञासा थियो, दुई देशबीचको सम्बन्ध अझै सुमधुर हुँदै जाने कुरामा आशा थियो । अध्यक्षले यो सबै कुराको बारेमा नेपालको सन्दर्भमा हाम्रो पार्टीको दृष्टिकोण राख्नुभयो । शान्ति  प्रक्रिया हाम्रो सरकार हुँदैखेरिटुङ्गोमापुर्‍याउन खोजेको कुरा राख्दै तीन कुराहरू अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरिटुङ्गोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर हाम्रो तर्फबाट शान्ति प्रक्रिया टुङ्गोमापुर्‍याउन लागेको छौँ, भन्नेकुरा भयो ।’

भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न शुरु गरेकोमा खुशी लागेको बताएको नेम्वाङले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:३३
Weather Update