
बर्दिया— बर्दिया कारागारमा कैद सजाय काटिरहेका एक कैदी आइतबार बिहान फरार भएका छन् ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाए पाएर एक वर्ष देखि कैद भुक्तान गरिरहेका ठाकुरबाबा नगरपालिका– ८ का २७ वर्षीय अजित बूढा क्षेत्री कारागारबाट भागेका हुन् ।
उनी बिहान करिब ३ बजे कारागारको ट्रस्ट माथि रहेको पर्खालबाट हाम फालेर फरार भएको कारागार प्रमुख सन्तोष बिकले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले कैदी भागेको थाहा पाउनसाथ टोली परिचालन गरिएको बताए । २०७१ सालमा ठाकुरबाबा नगरपालिका- ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा क्षेत्री पक्राउ परेका थिए ।
अदालतमा बयान दिन जाने क्रममै फरार भएका उनलाई प्रहरीले गत वर्ष मात्र पक्राउ गरेको थियो । क्षेत्रीलाई अदालतले कर्तव्य ज्यान मुद्दा र फरार अभियोगमा ३० वर्षको कैद सजायको फैसला सुनाएको थियो ।