
काठमाडौं— काठमाडौंको पेप्सीकोला—काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
घाइतेको मिनभवनस्थित सिभिल अस्पताल र पेप्सिकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार बिहान साढे ७ बजे पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा जडिबुटीदेखि पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले बा ६ च ५३४२ नम्बरको बलेरो गाडी, बाग्मती प्रदेश ०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बाग्मती प्रदेश ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १४ जना घाइते भएको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले जानकारी दिए ।
कटुवालका अनुसार मदल्याण्ड अस्पतालमा ८ जना पुरुष र सिभिल अस्पतालमा ६ जना मध्ये ४ जना महिला २ जना पुरुष घाइतेको उपचार भइरहेको छ ।
रामेछापको लिखुतामाकोशी गाउँपालिका-२ स्थायी घर भई हाल पेप्सिकोला बस्ने बस चालक २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













