
भोजपुर— हतुवगढी गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्तामा थप व्यवस्था गरिने बताएको छ ।
शिक्षा नियमावलीअनुसार प्रधानाध्यापकलाई थप जिम्मेवारी र कर्तव्यबोधसहित शैक्षिक सुधारमा लाग्न प्रोत्साहन गर्न भत्तामा थप व्यवस्था गर्न लागेको गाउँपालिकाको भनाइ छ ।
त्यसैगरी विद्यालयमा अध्ययन गराउने महिला शिक्षिकालाई शिक्षा नियमावलीमा सुत्केरी बिदा ९८ दिन हुने व्यवस्था रहेकाले उनीहरू सो बिदामा गएको अवस्थामा पठनपठनमा असर नपुगोस् भन्नका लागि गाउँपालिकाले स्वयंसेवक तथा सट्टा शिक्षकको व्यवस्था गर्ने नीति अघि सारेको छ । यो कार्यले विद्यालयको कक्षालाई निरन्तर अघि बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गाउँपालिकाले एक विद्यालय एक अक्षय कोष स्थापना गर्ने कार्यक्रम सञ्चालनको तयारी थालेको छ । गाउँपालिकाभरिका उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई छनोट गरेर पुरस्कृतसँगै आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।
विगतका वर्षबाट सबै विद्यालयमा एक/एक थान प्रिन्टर र ल्यापटप वितरणको कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
प्रविधिमैत्री शिक्षामा जोड दिन यहाँका दुई वटाबाहेक ३५ वटा विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाको भनाइ छ ।
छुटेका दुई विद्यालयमा पनि चाँडै इन्टरनेट विस्तार गरिने गाउँपालिकाले जनाएको छ । पठनपाठनमा सुधार गर्न शिक्षकलाई आवश्यक तालिमको व्यवस्था गर्दै आएको जनाइएको छ ।
हतुवागढी गाउँपालिकामा ३७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । यहाँ चार वटा माध्यमिक विद्यालय, नौ वटा कक्षा १–८ र बाँकी २४ वटा विद्यालयमा १–५ र कक्षा १–३ पढाई हुँदै आएका छन् ।













