News Griha :: न्यूजगृह
हतुवागढी गाउँपालिकाले ल्यायो ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ कार्यान्वयनमा

भोजपुर— शैक्षिक सुधारका लागि भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवगढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ निर्माण गरेको छ ।

खस्किँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले बृहत् योजनासहितको पाश्र्वचित्र निर्माण गरेको हो ।

पाश्र्वचित्रमा उल्लेख भएका विषयवस्तुले समग्र गाउँपालिकाको शिक्षा सुधारमा सहयोग पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए ।

विज्ञहरूको समूहले निर्माण गरेको पाश्र्वचित्रमा यहाँको शिक्षाको अवस्थासँगै भावी दिनमा शैक्षिक सुधारको क्षेत्रमा गुर्नपर्ने कामलाई बृहत्रूपमा समेटिएको उनको भनाइ छ ।

‘पछिल्लो समयमा देशको शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा छ’,उनले भने,‘धेरै शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई छ । यहाँको शिक्षाको सुधार गर्ने उद्देश्यले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र–२०७९ निर्माण गरेर काम अघि बढाएका छौँ ।’

पाश्र्वचित्रमा गाउँपालिका, शिक्षक,अभिभावक तथा विद्यार्थीले बहन गर्नुपर्ने दायित्व तथा कर्तव्यलाई समेट्दै भावी दिनमा गर्नुपर्ने कामका योजनालाई समेटिएको प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०७:५६
Weather Update