
काठमाडौं— नेकपा एमालेका उच्चस्तरका नेता चीन भ्रमण प्रस्थान गरेका छन् । महासचिव शंकर पोखरेल नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा एमाले पार्टीका केन्द्रीय सदस्यसहित २२ जना भ्रमण टोलीमा रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, अखिल नेपाल महिला संघका अध्यक्ष दुकाभद्र हमाललगायत केन्द्रीय तहका नेता सहभागी छन् ।
भ्रमण टोलीले गणतन्त्र चीनका ३ मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको १३ दिनसम्म भ्रमण गर्नेछ । भ्रमणको बेला नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने एमाले प्रचार विभागका सचिव विष्टले जानकारी दिए ।













