News Griha :: न्यूजगृह
उड्डयन प्राधिकरणले तयार गर्‍यो हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ ।

तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम ३ वटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार सबै वायुसेवा कम्पनीले ५ वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम ५ वटा पुर्‍याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ ।

वायुसेवा सञ्चालन गरिरहेका कम्पनीलाई थप जवाफदेही बनाउनुका साथै नयाँ आउने कम्पनीलाई पनि सेवा, शर्त पालना गराउनु प्राधिकरणको उद्देश्य रहेको जनाइएको छ ।

वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक र जिम्मेवार प्राप्त म्यानेजर तथा पोष्ट होल्डरले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यविपरीतका क्रियाकलाप सञ्चालन गर्न एवम् सो सम्बन्धमा आफ्ना धारणा सार्वजनिकरूपमा व्यक्त गर्न नहुने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:१९
Weather Update