
मोरङ— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले माओवादी केन्द्र कमजोर हुँदा ठूलो राजनीतिक परिवर्तनको बलमा स्थापित उपलब्धि संकटमा परेको बताएका छन् ।
मन्त्री किराँतीले मोरङको बेलबारीमा पार्टीको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी कमजोर हुँदा जनयुद्धको बलमा प्राप्त उपलब्धि संकटमा परेको बताएका हुन् ।
उनले भने, ‘हामी माओवादी कमजोर हुँदा हामीले नै लडेर स्थापित गरेका उपलब्धि संकटमा पर्दै गएका छन् । आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र उत्पीडित वर्गलाई समाजले पुरानै शैलीमा विभेद गर्न थालेको छ । यसको मूल कारण माओवादी कमजोर हुनु हो ।’
मन्त्री किराँतीले जनता नै माओवादीको आधार भएको वास्तविकता बिर्सँदै माओवादीका नेता कार्यकर्ताले जनतासँगको सम्बन्ध कायम गर्न नसक्दा जनता र माओवादीको सम्बन्ध बिग्रेको समेत बताएका छन् ।













