सरकारसँग एकथरी मान्छे अत्तालिएका छन् : प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रो काम गरिरहेकाले एकथरी मान्छे अत्तालिएको दाबी गरेका छन् ।
माओवादी केन्द्रले शनिबारदेखि सुरु गरेको रुपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् ।
‘वर्तमान गठबन्धन सरकारसँग एकाथरी मान्छे अत्तालिएका छन्,यो अभियानले फेरि माओवादी २०६४ सालमा फर्कने भयो,शक्तिशाली पार्टी हुने भयो भन्ने आशंका छ’,उनले भने,‘माओवादीलाई देश र जनताको पक्षमा काम गर्न नदिन ठूलो षड्यन्त्र भइरहेको छ, देश र राज्यलाई शुद्धीकरण गर्ने, बेथिति र फोहरलाई सफा गर्ने अभियान रोकिँदैन ।’
उनले आफूले सरकारको नेतृत्व गरिन्जेलसम्म देश र जनताको पक्षमा काम गरिरहने दृढता व्यक्त गरे ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १७:४५