
काठमाडाैं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुककाे संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन् ।
सोमबार नेपाल नगरपालिका संघको ३०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेकोमा आफू खुसी भएको बताएका हुन् ।
उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका संवैधानिक पदहरूमा फरक–फरक राजनीतिक दलहरूको प्रतिनिधित्व भएको भन्दै यसले आफूलाई खुसी र गर्वको महसुस गराएको बताए ।
उनले भने, ‘मलाई खुसी के मा पनि छ भने हामी कति सहमति र समझदारीबाट जानसक्यौँ, सकेनौँ त्यो त एउटा कुरा हो । तर सन्तुलन हामीले कायम गरेका छौँ । राष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपराष्ट्रपति हेर्याे भने विभिन्न राजनीतिक दलबाट छ । र, त्यहाँ सन्तुलन छ । चेक एण्ड ब्यालेन्स हुने किसिमको शक्ति सन्तुलन कायम गरिएको छ संघमा । यसमा मलाई खुसी छ । गर्व छ । यो सन्तुलन कायम गर्ने प्रक्रियामा मैले भूमिका खेल्ने अवसर पाएँ भन्ने मलाई लागेको छ, तेस्रो कार्यकालमा । तत्काल त कसैलाई अलि नमिठो लागेको हुनसक्छ ।’
संवैधानिक पदहरूमा यसरी राजनीतिक सन्तुलन मिल्दा ‘चेक एण्ड ब्यालेन्स’ हुने दाहालकाे भनाइ छ ।
प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनसँगै देशमा नयाँ वातावरण बनेको भन्दै अब विकास, समृद्धि र आवश्यक ऐनहरू निर्माणको प्रक्रियामा जानुपर्ने कार्यभार रहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले स्थानीय तहलाई संविधानमा संघीय सरकारको इकाइको रूपमा नहेरी स्थानीय सरकारको रूपमा परिभाषित गरिएको बताए ।
पछिल्लो समय प्रदेश र स्थानीय तहलाई अधिकार दिनुहुँदैन भन्ने विचार हावी हुन लागेको भन्दै उनले प्रदेश र स्थानीय तहको काम छैन भन्नु राजनीतिक अनैतिकता भएको बताए ।
उनले संविधानले व्यवस्था गरे अनुसार आवश्यक ऐन र संरचनाहरू निर्माण गरेर मात्रै यसको समीक्षा गर्नुनपर्ने बताए ।













