दाङ— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छन् ।
घोराही उपमहानगरपालिका–१७वर्गदीस्थित शहीद स्मृतिपार्कमा नेकपा माओवादी केन्द्रले सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान उद्घाटनमा उनले अब शहीदका सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताइन् । शर्माले शहीदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै अब शहीदका सपना पूरा गर्न जनताको अवस्था बदल्नु पर्नेमा जोड दिइन् ।
वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकतामा राखिएको मन्त्री शर्माले बताइन् । इतिहासमा पहिलो पटक सरकार जनतासित जोडिएको उल्लेख गर्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको दाबी गरिन् ।
शान्ति प्रक्रियापछि पार्टी पटकपटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्दै शर्माले अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बिचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पुर्याउन यो अभियान सुरु गरिएको जिकिर गरिन् ।
सबै नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आग्रह गर्दै उनले राजनीतिलाई सेवाका रुपमा लिनुपर्ने बताइन् ।













