
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस संक्रमण बढिरहेको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आइतबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएकोले नेपालमा संक्रमण बढिरहेको बताए ।
उनले संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउन आग्रह गरेका छन् ।
उनले रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई आग्रह पनि गरेका छन् ।
उनको भनाइमा यही चैत्र महिनामा २४ वटा नमूना परीक्षण गरिएकोमा २४ वटैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो । सोअनुसार ओमिक्रोन विए १.१ दुई वटा, ओमिक्रोन विए दुई, ओमिक्रोन विए २.७६ एउटा, ओमिक्रोन विए ५ दुई वटा भेरियन्ट फेला परेका छन् ।
आइतबार कोरोना भाइरसको संक्रमण ७६ जनामा देखिएको छ ।













