News Griha :: न्यूजगृह
विमानस्थल सुरक्षा सुधारका लागि गठित कार्यदलको गर्‍यो सुझाव संकलन

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।

पटक—पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा त्रुटीका कारण तस्करीका सामान भित्रिने र बाहिरिने घटना दोहोरिन थालेपछि सरकारले गठन गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी नेतृत्वको कार्यदलले शुक्रबार विभानस्थल क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिएको हो ।

अनुगमन पछिको बैठकमा अर्थ, गृह र पर्यटन मन्त्रालयका प्रतिनिधि, चारै वटा सुरक्षा निकायका प्रतिनिधिहरु तथा भन्सार, अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणका अधिकारी सहभागी थिए ।

बैठकमा अध्यागमन, भन्सार कार्यालय तथा प्राधिकरणबाट विमानस्थल सुरक्षाको हालको अवस्था र सुधारका विषयमा प्रस्तुतिकरण भएको थियो ।

गत भदौ अन्तिम साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विमानस्थल सुरक्षा सुधारका लागि उच्चस्तरीय बैठक बसेको थियो । बैठकमा कार्यदल गठन गरी त्यसको प्रतिवेदनका आधारमा  विमानस्थलको सुरक्षा सुधार गर्ने उनले बताएका थिए ।

सोही बैठकको निष्कर्षका आधारमा सुरक्षा सल्लाहकार वैरागीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले शुक्रबार कार्यदलबाट विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको बताए ।

कार्यदललाई प्रतिवेदन बुझाउने १५ दिनको कार्यादेश दिएको छ । कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विमानस्थलको सुरक्षामा सुधार गर्नुपर्ने विषय समेटेर प्रतिवेदन बुझाउने छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १९:४४
Weather Update