
काठमाडौं— साउदी अरबको एक अदालतले एक जना पूर्वशिक्षकलाई फाँसीको फैसला सुनाएको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार नियन्त्रणमा सरकार निष्क्रिय रहेको तथा मानवअधिकार उल्लंघनका घटनमा प्रतिक्रियाविहीन बनेको टिप्पणी गरेका उनलाई मृत्युदण्डको सजाय सुनाएको सीएनएनले जनाएको छ ।
आतंकवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले ५४ वर्षीय पूर्वशिक्षक मोहम्मद अलघामदीलाई गत महिना उक्त फैसला सुनाएको उनका भाइ सइद बिन नासर अलघामदीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
बेलायत निर्वासनमा रहेका उनले आफ्नो जीवन पनि साउदीमा सुरक्षित नहुने बताएका छन् । साउदीमा कोही पनि सुरक्षित नभएको सन्देश उक्त फैसलाले दिएको टिप्पणी गर्दै सीएनएनले सामाजिक सञ्जालमा गरिएको सामान्य टिप्पणीलाई लिएर यति भयानक दण्ड सुनाउनु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको फैसला भएको बताएको छ ।
अलघामदीमाथि साउदी नेतृत्वविरुद्ध षड्यन्त्र गरेको, राज्यका संस्थालाई कमजोर पार्ने र आतंकवादी विचारधारालाई समर्थन गरेको अभियोग लगाइएको उनका भाइले बताएका छन् । रासस/एएनआई













